मणिग्राम, भाद्र २५ बिहीबार ।
राममणि बहुमुखी क्याम्पसका विद्यार्थीहरूका लागि आयोजित व्यावहारिक लेखन सम्बन्धी प्रशिक्षण कार्यक्रम आज (बिहीबार) सम्पन्न भएको छ ।
कार्यक्रममा प्रशिक्षक बाबुराम पाण्डेले श्रव्य–दृश्य सामग्रीसहित विद्यार्थीहरूलाई व्यावहारिक लेखनका विभिन्न पक्षबारे उदाहरणसहित सिकाउनुभएको थियो ।
प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई व्यावहारिक जीवन तथा पेशागत क्षेत्रमा आवश्यक पर्ने लेखन सीप, यसको प्रयोग र प्रभावकारी लेखनका विषयमा जानकारी समेत गराइएको थियो ।
सो अवसरमा बोल्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीहरूको ज्ञान, सीप तथा व्यक्तित्व विकासका लागि क्याम्पसले विभिन्न प्रकारका अतिरिक्त तथा व्यावहारिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
विद्यार्थी परामर्श तथा रोजगार समितिका संयोजक भीमलाल घिमिरेको अध्यक्षता र लेखा प्रमुख विष्णुप्रसाद भुसालको सञ्चालनमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे सहितका प्राध्यापकहरूको उपस्थिति रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा बीबीएस तेस्रो र चौथो वर्षका विद्यार्थी सहभागी थिए ।


